भरतपुरबाट हराएकी विनाको भिडियो सिसिटिभी फुटेजमा भेटियो

भरतपुरबाट हराएकी विनाको भिडियो सिसिटिभी फुटेजमा भेटियो

काठमाडौं । गत असार १४ गते भरतपुरबाट हराएकी युवती नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडियो भेटिएको छ। उक्त दिन नवलपुरको गैंडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी विना सापकोटा राति ८ बजेर ४१ मिनेटमा नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए।

विनाको मोबाइल सेट भने प्रहरीले प्रवेशको साथमा फुटेको अवस्थामा भेटेको थियो। मोबाइलविहीन बनेकी विनाले अपरिचित व्यक्तिको मोबाइलबाट ११ सेकेन्ड प्रवेशसँग बोलेको भेटिएको छ। केहीबेर बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएको ती व्यक्तिले जानकारी गराएको विनाका बुबा जयश्वरले बताए। बाबु जयश्वर सापकोटाले दिएको जाहेरीका आधारमा प्रेमी प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा विना कैद भएको भेटेको हो।

प्रहरीले नियन्त्रणमा रहेका भनिएका प्रवेश भने हाल भरतपुर अस्पतालमा छन्। छोरी हराएपछि असार १८ गते बाबु जयश्वरले प्रवेशविरूद्ध प्रहरीमा उजुरी दिएका थिए।

प्रकाशित मिति:     १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar