एलओडीको गोदाममा राजस्वले लगाएको सील खुल्यो

एलओडीको गोदाममा राजस्वले लगाएको सील खुल्यो

काठमाडौं । राजस्व अनुसन्धान विभागले ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी)को गोदाममा लगाएको सील खोलेको छ । कर छली गरेको आशंकामा गत साउन २७ गते बिहान विभागको टोलीले एलओडीमा छापा मार्दै मदिरा लगायतका सामान राख्ने गोदाममा सील लगाएको थियो ।

विभागले आर्थिक कारोबार सम्बन्धी सबै विवरण नियन्त्रणमा लिँदै एलओडीमाथि छानबिन सुरु गरिसेको छ । छानबिनका क्रममा एलओडीको गोदाममा भएका सामानको लगत लिएपछि विभागले गोदाममा लगाएको सील खोलेको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

‘व्यवसायलाई अवरोध गर्नेभन्दा कर छली गरे वा नगरेको विषयमा अनुसन्धान गर्ने हाम्रो उद्देश्य हो,’ ढुंगानाले भने, ‘विभागबाट खटिएको टोलीले एलओडीको गोदाममा रहेको सबै सामानको रेडर्क प्रमाणित गरेपछि हामीले सील खोलिसकेका छौं ।’ दिनमा लाखौं रुपैयाँको कारोबार गर्दासमेत कानुनअनुसार मूल्य अभिवृद्धि कर र आय कर नतिरेको लिखित उजुरीका आधारमा विभागले एलओडीमा छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको विभागका अधिकारीहरु बताउँछन् ।

एलओडीका मुख्य सञ्चालक राजु सिंह सुवाल र रविन श्रेष्ठ हुन् । विभागले एलओडीमा छापा मारेपछि केही विभागसँग सम्पर्कमा नरहेका उनीहरु दुई जनाले हाल विभागलाई अनुसन्धानमा सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति:     ४ भाद्र २०८०, सोमबार  |    Himali Khabar