कम आय भएका देशलाई विश्व बैंकले ९३ अर्ब डलर सहयोग गर्ने

कम आय भएका देशलाई विश्व बैंकले ९३ अर्ब डलर सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सृजित संकटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनःपूर्ति ‘प्याकेज’ घोषणा गरेको छ ।

अन्तरराष्ट्रिय विकास संघबाट प्रवाह हुने उक्त सहायता ‘प्याकेज’ संघको ६१ वर्षको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो हो । जापानले ‘भर्चुअल’ रूपमा आयोजना गरेको दुई दिने बैठकमा बुधवार उक्त सहमति भएको विश्व बैंकले बिहीवार बताएको छ ।

विश्वका ७४ वटा गरिब देशमा प्रवाह गरिने उक्त सहायता रकमको ७० प्रतिशत अफ्रिकी मुलुकहरूलाई उपलब्ध गराइनेछ । जलवायु परिवर्तनको प्रभावको सामना, अनुकूलन र जैविक विविधताको संरक्षण, प्राकृतिक प्रकोपलगायत भविष्यका संकटहरुमा अझ राम्रोसँग तयारी गर्न तथा सामाजिक सुरक्षा बढाउनेतर्फ केन्द्रित हुने विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:     २ पुष २०७८, शुक्रबार  |    Himali Khabar