हुवावेकी उच्च अधिकारी क्यानडाबाट रिहा भएलगत्तै चीन फिर्ता

हुवावेकी उच्च अधिकारी क्यानडाबाट रिहा भएलगत्तै चीन फिर्ता

बेइजिङ । बैंक ठगी र प्रविधि चोरीको आरोपमा क्यानडामा पक्राउ परेकी अग्रणी चिनियाँ टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन्।

सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी उनलाई क्यानडामै नजरबन्दमा राखिएको थियो । उनी ह्वावेइका संस्थापककी छोरी हुन् । वान्जू पक्राउ परेसँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो। सम्झौतापछि शुक्रवार अमेरिकाको विदेश मन्त्रालयले उनको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उनी रिहा भइन्। वान्जूको पक्राउको बदलामा चीनले क्यानडेली नागरिकहरूलाई पक्राउ गरेको थियो।

चीनले त्यसलाई अस्वीकार गर्दै आए पनि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा थुनामा रहेका दुई क्यानडेली नागरिक स्वदेश फर्कँदै गरेको बताएका छन्। वान्जू पक्राउ परे लगत्तै उनीहरूलाई जासुसीको आरोपमा चीनले पक्राउ गरेको थियो।

प्रकाशित मिति:     ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar