बीबीसी । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले सहारा क्षेत्रको इस्लामिक स्टेट समूहका प्रमुख मारिएको बताएका छन् । फ्रान्स सुरक्षा बलको कारबाहीमा आईएसजीएस प्रमुख अदनान अबु वालिद अल–सह्रवी मारिएका हुन् । उनले सन् २०१५ मा इस्लामिक स्टेट इन द ग्रेटर सहारा (आईएसजीएस) गठन गरेका थिए ।
सो समूहलाई त्यस क्षेत्रमा धेरै आक्रमणहरूको लागि जिम्मेवार ठह¥याइएको छ । उक्त समूहले २०२० मा फ्रान्सका सहायताकर्मीहरूलक्षित आक्रमण गरेको थियो । म्याक्रोनले सह्रवीको मृत्युलाई ‘सहेल क्षेत्रमा रहेका आतंकवादी समूहहरूविरुद्धको युद्धमा अर्को ठूलो सफलता’ भनेका छन् ।
सहेल क्षेत्र सहारा मरुभूमिको दक्षिण–पश्चिममा सेनेगलदेखि पूर्वमा सोमालियासम्म तीन मिलियन स्क्वायर किलोमिटर क्षेत्रमा फैलिएको छ । राष्ट्रपति म्याक्रोनले आईएस नेता मारिएको स्थान र कारबाहीको विस्तृत विवरण भने खुलाएका छैनन् । फ्रान्स सुरक्षा बलले त्यस क्षेत्रमा वर्षौँदेखि जिहादिस्ट सेलहरूलाई खोजिरहेको छ ।