जेनेभा । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा ठूलो आर्थिक तथा मानवीय संकट आउन लागेको बताएको छ । यो समस्या समाधानका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि उसको भनाई छ । यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन राष्ट्र संघले आव्हान गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले मानवीय तथा आर्थिक संकटमा विषयमा विश्वको ध्यानाकर्षण गराएका हुन् ।
सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरे । गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ । अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा स्वच्छ पिउने पानीको समेत समस्या रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
महासचिव गुटर्रेसले अफगानिस्तानका लागि करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताए ।