काठमाडौं । पाकिस्तानी गुप्तचर एजेन्सी इन्टर(सर्भिस इन्टेलिजेन्स ९आईएसआई०का प्रमुख जनरल फैझ हमीद अफगानिस्तानको केन्द्रीय राजधानी काबुल पुगेका छन्। उनी पाकिस्तानी अधिकारीहरुको प्रतिनिधिमण्डलसहित शनिबार काबुल पुगेका हुन्। पाकिस्तानी पत्रकार हमजा अजहर सलामका अनुसार हमीद तालिबानको निमन्त्रणामा दुई देशको भविष्यबारे छलफल गर्न काबुल पुगेका हुन्।
‘आईएसआईका महानिर्देशक लेफ्टिनेट जनरल फैझ हमीद तालिबानको निमन्त्रणामा नयाँ सरकारको नेतृत्वमा पाकिस्तान र अफगानिस्तानको सम्बन्धमा छलफल गर्न काबुल पुगेका छन्,’ उनले ट्वीट गरेका छन्। अफगानिस्तानमा निर्वाचित अफगान सरकारलाई हटाउन र तालिबानलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्न पाकिस्तानको प्रमुख भूमिका रहेको विज्ञहरुको विश्वास छ।
पञ्जशीर उपत्यकामा लडाइँ जारी रहँदा तालिबानले चाँडै नयाँ सरकार गठनको घोषणा गर्ने तयारी गरेको बेला हमीद काबुल पुगेका छन्।