मापण्ड मिचेर बनाइएको ४० तले दुई भवन भत्काउने आदेश

मापण्ड मिचेर बनाइएको ४० तले दुई भवन भत्काउने आदेश

काठमाडौं । भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ४० तले दुइटा भवन तीन महिनाभित्र भत्काउन आदेश दिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले मंगलबार सुपरटेक लिमिटेड ग्रुपले नोएडामा बनाएका ती दुई आवासीय भवन कम्पनीकै खर्चमा भत्काउन आदेश दिएको हो।

यसअघि सन् २०१४ मा अलाहवाद उच्च अदालतले पनि ती दुई भवन भत्काउन आदेश दिएको थियो। उक्त आदेशविरूद्ध भवन बनाउने कम्पनी सुपरटेक सर्वोच्च अदालत गरेको थियो। सर्वोच्चले सरकारी अधिकारीहरूसँगको मिलेमतोमा मापदण्ड मिचेर बनाइएका भवन भत्काउने अलाहवाद अदालतको आदेशलाई सदर गरेको हो।

सर्वोच्चले ती भवनमा फ्ल्याट किनेका मानिसहरूलाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न पनि आदेश दिएको छ। ती दुई टावरमा झन्डै ८५० फ्ल्याट थिए। सुपरटेकको अवैधानिक निर्माणविरूद्ध मुद्दा लडेको रेसिडेन्ट्स वेलफेयर एसोसियसनलाई २ करोड भारु तिर्न पनि अदालतले भनेको छ।

प्रकाशित मिति:     १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar