काठमाडौं । वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाएका छन् । कोरोनाले नेपालका संरक्षण क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्नका लागि अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले श्रेष्ठलाई ४३ हजार डलर (करिब ५५ लाख रूपैयाँ) बराबरको अनुसन्धान वृत्ति दिएको हो ।
अनुसन्धान मुख्य गरी नेपालको संरक्षणमा क्षेत्रमा हुनेछ । कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताको क्षेत्रमा र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको अनुसन्धानकर्ता श्रेष्ठले बताए ।
सेप्टेम्बर १ तारिखबाट सुरु हुने यो अनुसन्धान एक वर्षभित्रमा सम्पन्न गर्नुपर्नेछ ।