काठमाडौं । विश्वका झण्डै एक चौथाई जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो ।
विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको विवरणमा खानेपानीको अभावको अवस्था नराम्रो देखिएको उल्लेख छ । सफा पानीको उपभोग गर्न नपाएकाहरुलाई विभिन्न प्रकारका रोगहरुको समस्या हुन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा दुवै निकायका अधिकारीहरुले जोड दिएका छन् । उनीहरुले कोरोनाभाइरसको महामारीको असर पनि सफा पानी खान नपाउनेहरूलाई बढी पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कोरोनाबाट बच्नका लागि सफा पानी र साबुनले हात धुन अनिवार्य रहेकाले पनि सफा पानीको अभावमा कोरोनाभाइरसबाट बच्न गाह्रो हुने अधिकारीहरुले उल्लेख गरेका छन् । एक तथ्यांक अनुसार विश्वका हरेक १० मध्ये ३ जनाले सावुन पानीले पर्याप्त हात धुन नपाएको देखिएको छ ।