एलन मस्कले मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर बेच्दै

एलन मस्कले मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर बेच्दै

काठमाडौं । टेस्ला कम्पनीका सीईओ एलन मस्कले आफ्नो बिक्री हुन बाँकी रहेको अन्तिम घर समेत बेच्ने योजना बनाएको खुलासा गरेका छन् । क्यालिफोर्नियास्थित बे एरियाको विशेष ठाउँमा रहेको आफ्नो सम्पत्ति बेच्न लागेको मस्कले ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

ठूलो परिवारका खातिर आफूले आफ्नो अन्तिम घरसमेत बेच्न थालेको मस्कको जिकिर छ । मस्कले आफ्नो ट्वीटमा लेखेको छन्–मेरो बँचेको घर बेच्ने निर्णय गरेँ । त्यहाँ (मंगल ग्रहमा) बस्ने ठूलो परिवारसँग जानका लागि यहाँको घर बेच्न आवश्यक परेको हो । यो निकै विशेष ठाउँ हो ।

मंगल ग्रहमा बस्ती बसाल्ने योजना पूरा गर्न रकम जुटाउनका लागि आफूले आफ्नो सबै घर सम्पत्ति बिक्री गर्ने मस्कले बताउँदै आएका छन् । मंगल ग्रहमा बस्ती स्थापना गरी सन् २०५० सम्ममा पृथ्वीबाट १० लाख मानिसलाई मंगल ग्रहमा पठाउने योजना उनको छ । स्मरण रहोस् मस्कलगायतका विभिन्न अर्वपतिहरुले कर छली गरेर निकै कममात्र कर तिरिरहेको रिपोर्ट सार्वजनिक भएको एक हप्तापछि मस्कले आफ्नो घर बेच्न लागेको बताएका हुन् ।

प्रो पब्लिकाले गत हप्ता सार्वजनिक गरेको रिपोर्टमा अमेजनका सीईओ जेफ बेजोस तथा बर्कशाएर कम्पनीका अध्यक्ष वारेन बफेटले आफ्नो आम्दानीको तुलनामा निकै कम आयकर तिरिरहेको र एलन मस्कले सन् २०१८ मा कुनै पनि संघीय आयकर नतिरेको खुलासा गरेको थियो । मस्कले सन् २०१५ र २०१७ मा ७० हजार डलर भन्दा कम आयकर तिरेको पनि उक्त रिपोर्टले देखाएको छ ।

प्रकाशित मिति:     २ असार २०७८, बुधबार  |    Himali Khabar