सात वर्षदेखि अलपत्र तीनकुने पुल फेरि नयाँ डिजाइनमा बनाइने

सात वर्षदेखि अलपत्र तीनकुने पुल फेरि नयाँ डिजाइनमा बनाइने

काठमाडौं । करिव सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्शन प्रालिको लापरबाहीका कारण अलपत्र बनेको थियो ।

सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो ।

सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल दुई वर्षपहिले देखि नै सम्पन्न भएर सञ्चालनमा छ । यो पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनः निर्माण सुरु गर्न परेको योजनाले जनाएको छ ।

प्रकाशित मिति:     २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar