नुवाकोट र धादिङ जोड्ने फोस्रेटारको पुल सन्चालनमा, धादिङबेशी र तारुका जान सहज

नुवाकोट र धादिङ जोड्ने फोस्रेटारको पुल सन्चालनमा, धादिङबेशी र तारुका जान सहज

काठमाडौं । बाटो बिबादका कारण निर्माण सम्पन्न भएर पनि तीन महिनासम्म सन्चालन हुन नसकेको त्रिशुली नदीमाथिको धादिङ र नुवाकोट जोड्ने पुल बुधबारदेखि सञ्चालन भएको छ ।

मगंलबार र बुधबार दिनभर भएको छलफलपछि बुधबार बेलूकी डोजरले घर टहरा भत्काएर बाटो खोलेर पुल सञ्चालनमा आएको हो । धादिङको गल्छी गाउँपालिका–१ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिका – ५ केउरेनी जोड्ने १९२ मिटर लामो पुल निर्माण भएपछि पुल नजिकै पर्ने बाटोमा घर टहरा बनाइएका कारण पुल ठप्प थियो । जसका लागि स्थानीयले विरोध गर्दै आएका थिए भने युवाहरुले दबाब अभियान सुरु गरेका थिए ।

स्थानीय अर्जुन खतिवडा र बासु खतिवडाले बुधबार घर भत्काउन अनुमति दिएपछि डोजरले बाटो बनाएको हो । २०७१ सालदेखि निर्माण सुरु भएको यो पुल २०७४ मा बनाई सक्ने सम्झौता भएपनि यसै वर्ष मात्रै निर्माण सम्पन्न भएको थियो ।

सात वर्षपछि बनेको पुल बुधबारदेखि भने पूर्ण रुपमा सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएसंगै गल्छीदेखि केउरिनी हुँदै धादिङबेशी र नुवाकोटको तारुका जान १० किलोमिटर बाटाे छोटिएको छ ।

प्रकाशित मिति:     १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar