प्रशारण लाइन निर्माणको बादशाह ‘मुडभरी एन्ड जोशी’ले पायो एमसीसी अन्तर्गतको १८ किलोमिटर प्रशारण लाइन निर्माणको जिम्मा

प्रशारण लाइन निर्माणको बादशाह ‘मुडभरी एन्ड जोशी’ले पायो एमसीसी अन्तर्गतको १८ किलोमिटर प्रशारण लाइन निर्माणको जिम्मा

काठमाडौं । अमेरिकी सहयोग नियोग (एमसीसी) अन्तगर्त नेपालमा निर्माण हुन लागेको ३१५ किलोमिटर प्रशारण लाइनमध्ये १८ किलोमिटर प्रशारण लाइन निर्माणको जिम्मा मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले पाउने भएको छ ।


मुडभरी एन्ड जोशीले मलेसियन कम्पनी एचजी पावर ट्रान्समिसन एसडीएन, बीएचडीसँगको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा नवलपुरको २२० केभी भूमही सबस्टेशनदेखि भारतीय सीमासम्म ४०० केभी डबल सर्किट प्रशारण लाइनको जिम्मा पाउने करिब टूंगो लागेको हो । परियोजना कार्यान्वयनकर्ता मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए नेपाल) ले जेठ १४ गते खोलेको आर्थिक प्रस्तावमा दुई भारतीय कम्पनीले भन्दा उसले कम रकम कबुल गरेको छ ।


एमसीए नेपालले उक्त खण्डको निर्माणका लागि १ करोड ३२ लाख ४० हजार अमेरिकी डलर (करिब १ अर्ब ७५ करोड ९४ लाख रुपैयाँं) मा कामलाई तीब्रता दिने गरि (एक खामे–सिंगल इनभेलप) प्रतिस्पर्धा गराएको थियो । मुडभरी एन्ड जोशीलृ मलेसियन कम्पनीको संयुक्त उपक्रममा तोकिएको खण्ड निर्माण गर्न १ करोड २७ लाख ९५ हजार अमेरिकी डलर हालेको छ । यो रकम संयुक्त उपक्रमले कुल बिलमा १ दशमलव ५ प्रतिशत छुट दिने कबोलसमेत गरेर अन्य प्रतिस्पर्धाको तुलनामा सबैभन्दा कम हो ।
उक्त ठेक्कामा पहिलोमा मुडभरी एन्ड जोशी, दोस्रोमा भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेड र तेस्रोमा भारतकै केइसी इन्टरनेशन्ल परेका थिए । ट्रान्सरेल र केइसीले क्रमश ः १ करोड २९ लाख ५४ हजार र केइसीले १ करोड ३० लाख ९८ हजार अमेरिकी डलरमा ठेक्का प्रस्ताव गरेका छन् । एमसीए नेपालले उपकरण डिजाइन, आपूर्ति, सामान ढुवानी, परीक्षण र निर्माण सम्पन्न लगायतको काम गर्ने गरी ठेक्का प्रस्ताव आह्वान गरेको थियो । पहिलो पटकको प्रतिस्पर्धामा लागत अनुमानभन्दा बढी रकमको आर्थिक प्रस्ताव गरेकाले त्यो रद्ध गरी नयाँ प्रस्ताव आह्वान गरेको थियो ।

मुडभरी एन्ड जोशी निर्माण क्षेत्रमा एक पुरानो कम्पनी हो । कम्पनीले अहिलेसम्म दर्जनौ प्रशारण तथा वितरण लाइन निर्माण गरिसकेको छ । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले नेपालगञ्ज–नानपारा १३२ केभी सीमापार प्रशारण लाइन निर्माणको ठेक्का समेत दिएको छ । बुटवल–लुम्बिनी १३२ केभी र बर्दघाट–सर्दी १३२ केभी प्रशारण लाइनको निर्माण सम्पन्न गरिसकेको छ । साथै मलेसियन कम्पनी एचजीपीटीसँगको जेभीमा हाल पिलुवा–परवानीपुर १३२ केभी लाइनको क्षमता अभिवृद्धिको काम गरिरहेको छ ।

एचजीपीटीसँगको सहकार्यमा हेटौडादेखि कमाने र कमानेदेखि पिलुवा १३२ केभी प्रशारण लाइनको क्षमता र स्युचाटार–बालाजु १३२ केभी प्रशारण लाइनको क्षमता वृद्धिको काम पूरा गरि स्युचाटार–मातातिर्थ १३२ केभी प्रशारण लाइन निर्माणको काम गरिरहेको छ । पथलैयादेखि ढल्केबरसम्म १३२ केभी प्रशारण लाइनको काम समेत कम्पनीले गरिरहेको छ ।

प्रकाशित मिति:     १८ जेष्ठ २०८१, शुक्रबार  |    Himali Khabar