सलमानको ‘राधे ः योर मोस्टवान्टेड भाइ’ मे १३ मा रिलिज हुने

सलमानको ‘राधे ः योर मोस्टवान्टेड भाइ’ मे १३ मा रिलिज हुने

मुम्बई, २ चैत । अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधे ः योर मोस्टवान्टेड भाइ’को रिलिज मिति तय भएको छ । प्रभु देवाको निर्देशनमा बनेको यस एक्सन–ड्रामा चलचित्र सन् २०२१ मा प्रदर्शन हुने चलचित्रहरुमध्ये धेरै आशा बोेकेको चलचित्र हो ।

चलचित्र आउँदो मे १३ तारिखमा रिलिज हुने पक्का भएको छ । अभिनेता सलमानले चलचित्रको नयाँ पोस्टरसँगै रिलिज मिति ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । ‘दबंग’को उनको एउटा चर्चित संवाद लेख्दै चलचित्र इदमै रिलिज हुने जानकारी दिएका हुन् । उनले लेखेका, “इदको प्रतिबद्धता थियो, इदमा नै आउनेछ । किनभने, एकपटक मैले…..।” सलमानले हरेक वर्ष इदमा आफ्नो चलचित्र रिलिज गर्दै आइरहेका छन् ।

यस चलचित्रमा सलमानसहित दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफ मुख्य भूमिकामा छन् । सलमान खान फिल्मस् र जी स्टुडियोको ब्यानरमा बनेको यस चलचित्रलाई सलमान, सोहेल र रिल लाइफ प्रोडक्सन लिमिटेडले निर्माण गरेको हो ।

प्रकाशित मिति:     २ चैत्र २०७७, सोमबार  |    Himali Khabar