‘लप्पन छप्पन २’चीनमा रिलिजको तयारी, रिलिजको अधिकार शान्त शर्मालाई

‘लप्पन छप्पन २’चीनमा रिलिजको तयारी, रिलिजको अधिकार शान्त शर्मालाई

काठमाडौं, २८ फागुन । अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्सअफिस बजार चीनमा केही वर्षयता बलिउड फिल्मले राम्रो उपस्थिति जनाएको छ । ‘बजरंगी भाइजान, दंगल, सिक्रेट सुपरस्टार, हिन्दी मिडियम, अन्धाधुन, हिच्की’ जस्ता फिल्मले चिनियाँ बक्सअफिसमा करोडौं छापे । ७० हजारभन्दा बढी स्क्रिन रहेको चीनमा कुनै पनि फिल्मले प्रदर्शनको पहिलो दिन सय करोडभन्दा बढी छाप्न सक्छ ।

हलिउडपछि भारतीय फिल्मले चिनियाँ बजारमा आफ्नो बलियो पकड बनाउँदै गर्दा नेपाली फिल्मका लागि चीनका हलमा फिल्म रिलिज गर्नु कल्पना भन्दा बाहिरको कुरा हो । तर गत वर्ष निर्देशक दिपेन्द्र के. खनालले फिल्म ‘आमा’ लाई चीनमा रिलिजका लागि पहल गर्ने बताएका थिए । त्यहाँ कसरी फिल्म गर्ने भनेर मेलोमेसो नपाउँदा उनी अगाडि बढ्न सकेनन् ।

यस्तैमा, आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ लाई चीनका सिनेमा हलमा रिलिजको प्रयास गरिने भएको छ । यसका लागि निर्माण टिमले चिनियाँ भाषामा फिल्मलाई डबिङ गरिदै छ । फिल्मको चीन रिलिजको अधिकार युवा पर्यटन व्यावसायि शान्त शर्माले लिएका छन् ।

चीनका थिएटरमा फिल्म रिलिजको प्रयास भइरहेको निर्देशक मुकुद भट्टले जानकारी दिए । सिनेमा हलमा सम्भव नभए ओटीटीमा रिलिज गरिने उनले बताए । फिल्मको मुम्बईमा हिन्दी, तमिल, तेलुगू र भोजपुरी भाषामा पनि डब भइरहेको छ ।

प्रकाशित मिति:     २८ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar