काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले बुधबार प्रेस ब्रिफिङमार्फत मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको संकेत गरे ।
पछिल्लो समय धेरै व्यक्ति अस्पतालमा टाउको दुखेर, सामान्य ज्वरो आएर अथवा अन्य समस्याका कारण भर्ना हुने क्रम बढ्दै गएको अवस्था छ । साथै स्वास्थ्यमा जटिल समस्या अएका कारण पनि केही व्यक्तिहरु अस्पताल भर्ना हुन थालेका छन
‘अहिले कोभिड–१९ को दैनिक रुपमा सङ्क्रमण पुष्टि हुने सङ्ख्या बढ्दै गएको, अस्पतालमा भर्ना हुनेहरुको सङ्ख्या पनि तुलनात्मक रुपमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले भने, ‘यो हिसाबले मुलुक तेस्रो लहर तिर अगाडि बढ्न थालेको हो की भन्ने संकेत हामीले देखिरहेका छौं र विस्तारै त्यो अवस्था देखिदै गएको पनि छ ।’
सरकारले कोरोना परीक्षण निःशुल्क गरिरहेको जानकारी दिँदै उनले कोरोना परीक्षणको दायरामा आइदिन सम्पूर्ण नागरिकमा आग्रह समेत गरे ।कोरोना महामारीविरुद्ध अभियान हाम्रो पुस्ताकै अभियान भएको हुनाले यसमा सबैको एक्यवद्धता र सहकार्यको आवश्यक रहेको बताए ।