काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।
लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र अब चाँडै नै खोप आइपुग्ने बताइएको छ ।
खोप नेपाल आइपुग्ने बित्तिकै खोप वितरण हुनेछ । यस्तै औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले लोमस फर्मासुटिकल कम्पनीलाई खोप ल्याउने अनुमति दिइएको र सो कम्पनीले प्रयास गरी राखेको जानकारी आफूलाई भएको बताए । यस्तै स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले निजी क्षेत्रले ल्याउने खोपको मूल्य, विक्री वितरण र खरिदलगायतका सबै कुराहरु स्वास्थ्य तथा जनसङूख्या मन्त्रालयले निर्धारण गरेको निर्देशिका अनुसार हुने जानकारी दिए ।