काठमाडौं । अब मास्कको मद्दतबाट पनि कोरोना संक्रमण परीक्षण गर्न सकिने भएको छ। अमेरिकाका वैज्ञानिकले यस्तो मास्क बनाएका हुन्, जसले मानिसमा कोरोना संक्रमण छ कि छैन भनेर पत्ता लगाइदिन्छ।
यस्तो मास्क हार्वर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक मिलेर बनाएका हुन्। वैज्ञानिकले भनेका छन्, ‘हामी धेरै वर्षदेखि टेक्नोलोजीको सहयोगमा इबोला र जीकाजस्ता भाइरस पत्ता लगाउन प्रयास गरिरहेका थियौं, तर गत वर्ष कोरोना महामारी सुरु भएपछि लक्ष्य परिवर्तन गर्यौं, अर्थात् कोरोना भाइरसमा अनुसन्धान केन्द्रित गर्यौं।’
वैज्ञानिकका अनुसार मास्कमा रहेको डिस्पोजल सेन्सर जब एक्टिभ हुन्छ, तब सासमा रहेको कण पत्ता लगाउँछ। कोरोनाको कण फेला पर्यो भने सेन्सरको रङ बदलिन्छ र ९० मिनेटमा परीक्षणको नतिजा आउँछ। यस प्रविधिका माध्यमबाट कोट र अन्य कपडामा पनि यस्तै इम्प्लान्ट तयार गर्न सकिने वैज्ञानिकको विश्वास छ।