स्टार अस्पतालमा २ सय बिरामीको जोर्नी प्रत्यारोपण

स्टार अस्पतालमा २ सय बिरामीको जोर्नी प्रत्यारोपण

काठमाडौं । ललितपुरको सानेपा स्थित स्टार अस्पतालले पछिल्लो ५ वर्षमा २ सय बिरामीको जोर्नी प्रत्यारोपण गरेको छ । डा दीर्घराज आरसीको नेतृत्वमा डा सुमन मरहठ्ठा र डा राम ईश्वर यादवको टिमले स्टार अस्पतालमा २ सय जोर्नी प्रत्यारोपण गरेको हो ।

अस्पतालले नेपालमा निजी क्षेत्रको अस्पतालमध्ये सबैभन्दा धेरै जोर्नी प्रत्यारोपण गर्न सफल भएको दाबी गरेको छ । मंगलबार आयोजित एक विशेष कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले डाक्टरहरुको उत्कृष्ट टिम, अस्पतालका कर्मचारीको सहयोग र बिरामीको विश्वासका कारण यति छोटो समयमा २ सय जना बिरामीको जटिल मानिने जोर्नी सफल प्रत्यारोपण गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले यो सेवालाई आगामी दिनमा अझ चुस्तदुस्त बनाउन आवश्यक प्रविधि थप्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्टार अस्पतालका वरिष्ठ जोर्नी प्रत्यारोपण विशेषज्ञ डा दीर्घराज आर सीले एउटा प्राइभेट अस्पतालमा यति धेरै जोर्नी प्रत्यारोपण हुनु सानो कुरा नभएको बताउनुभयो । आफनो टिमले १३ वर्षको अवधिमा २ हजारको हाराहारीमा जोर्नी प्रत्यारोपण गरेकोमा २ सय स्टार अस्पतालमा गरेको उहाँले बताउनुभयो ।

नेपालमा झण्डै ३० हजार बिरामी जोर्नी प्रत्यारोपण गर्ने अवस्थामा रहेको भए पनि हाल वर्षेनी ७ सयदेखि हजार जना बिरामीको मात्र जोर्नी प्रत्यारोपण हुने गरेको बताइएको छ ।

यस्तै अस्पतालका अर्का जोर्नी प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठाले नेपालमा प्राइभेट अस्पतालमा छोटो समयमा २ सय जोर्नी प्रत्यारोपण हुनु गर्वको विषय रहेको बताउनसभयो ।

प्रकाशित मिति:     ६ भाद्र २०८०, बुधबार  |    Himali Khabar