काठमाडौं, ३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ आवेदन दिएका मध्ये ३३ प्रतिशतले मात्र पाउने भएका छन् । यो अवेदनमा लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका छन् ।
यो आवेदन मध्येबाट गोलाप्रथामार्फत ५ लाख ९४ हजार लगानीकर्ताले १० कित्ताका दरले पाउने छन् । यस आधारमा कुल आवेदकको ३३ प्रतिशतले मात्र आइपीओ हात पार्ने छन् ।
बाँकी रहेका ६७ प्रतिशतको हात खाली हुने छ । विक्री प्रवन्धक एनएमबि क्यापिटका अनुसार आइपीओको बाँडफाँड यसैसाता हुने सम्भावना छ ।
आवेदनमा रुजु गर्नुपर्ने काम बाँकी रहेकाले त्यो काम सकिने वित्तिकै बाँडफाँड गरिने जनाइएको छ। यसरी रुजु गर्दा आवेदनको संख्या समेत तल माथि हुने सम्भावना छ । त्यसले पनि आइपीओ पर्ने सम्भावनाबारे निर्धारण गर्ने छ ।
इन्स्योरेन्सले सर्वसाधारणका लागि कुल ५९ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल ६६ लाख कित्तामध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।