जलविद्युत्‌को सेयर किन्दा सचेत बन्न आग्रह

जलविद्युत्‌को सेयर किन्दा सचेत बन्न आग्रह

काठमाडौं । जलविद्युत् कम्पनीका सेयरमा लगानी नगर्न विद्युत् नियमन आयोगले लगानीकर्तालाई आग्रह गरेको छ । पछिल्ला सातामा केही जलविद्युत् कम्पनीले सेयर मूल्य बढाउनकै लागि अनावश्यक हल्ला फैलाइरहेको सन्दर्भमा आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेरै यस्तो आग्रह गरेको हो ।

‘सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा केही विद्युत् कम्पनीका प्रवर्द्धक अस्वाभाविक रूपमा सेयर मूल्य वृद्धि गराउने क्रियाकलापमा संलग्न भएका कारण नेप्सेमा सूचीकृत विद्युत्सम्बन्धी कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि भएको भनी समाचार सम्प्रेषण भएको सम्बन्धमा विद्युत् नियमन आयोगको ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ ।

पछिल्ला दिनमा केही कम्पनीले सेयर मूल्यमा सकारात्मक प्रभाव पार्ने खालका हल्ला लगानीकर्तामाझ फैलाउँदै आएका छन् । ती सूचना प्रमाणित हुने आधार नभए पनि उक्त काममा केही जलविद्युत् कम्पनीका प्रवर्द्धक स्वयं लागेको भेटिएको छ । सूचीकृत कम्पनीले जानकारी तथा विवरण सार्वजनिक गर्दा सत्य तथा निष्पक्ष जानकारी प्रेषित गर्नुपर्ने सम्बन्धित कम्पनीको जिम्मेवारी हो । लगानीकर्तालाई जानजान झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटिपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक एवं उत्पादन कम्पनीविरुद्ध आवश्यक कारबाही गरिने पनि आयोगले बताएको छ ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar