एक अध्ययनको रिपोर्ट : सबै भन्दा छिटो लाग्नेमा एनसेल र काटिनेमा एनटिसि

एक अध्ययनको रिपोर्ट : सबै भन्दा छिटो लाग्नेमा एनसेल र काटिनेमा एनटिसि

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकामा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्ट गरेको जनाएको छ।

प्राधिकरणले सेवा प्रदायकको आफ्नै नेटवर्क भित्र लोकल कल गर्दै सबैभन्दा कम समय (५.२७ सेकेन्ड) मा एनसेलको नेटवर्कमा कल स्थापना भएको जनाएको छ। नेपाल टेलिकमको ९.३४ सेकेन्ड र स्मार्ट टेलिकमको १०.२७ सेकेन्ड लागेको प्रतिवेदनमा उल्लेख गरेको छ।
प्राधिकरणको परीक्षणका क्रममा कल अवधि ४० सेकेन्ड कायम गरेको थियो।

यस्तै कल स्थापना हुने सफलताको दर पनि एनसेलकै बढी छ। एनसेलको कल स्थापना हुने सफलताको दर ९४.४३ प्रतिशत रहेको छ। कल स्थापना हुने सफलताको दर टेलिकमको नेटवर्कमा ९०.५१ प्रतिशत र स्मार्ट टेलिकमको ८४.४७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आफै फोनकल विच्छेद हुने दर सबैभन्दा बढी टेलिकममा रहेको प्राधिकरणले जनाएको छ। फोनकल विच्छेद हुने दर टेलिकममा ०.८७ प्रतिशत, स्मार्ट टेलिकममा ०.४५ प्रतिशत र एनसेलमा ०.२ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ।

प्रकाशित मिति:     ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar