काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्री गर्दा मूल्य घटबढ गर्न पाउने सीमामा गरेको परिवर्तन आजदेखि कार्यान्वयनमा आएको छ।
बोर्डले मूल्य घटबढ गर्दा १ रुपैयाँभन्दा कम मूल्य पनि राख्न पाउने गरी व्यवस्था मिलाउन स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो। उक्त निर्देशन आजबाट कार्यान्वयनमा आएको हो।
आइतबार कारोबार भएका केही कम्पनीको सेयर मूल्य यही अनुरुप रुपैयाँमा नभएर पैसामा घटबढ गरेर कारोबार भएको छ।
बोर्डले गत असार १० मा मूल्य सीमा परिवर्तन गर्ने धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को दोस्रो संसोधन गरेको थियो। उक्त संसोधनमा १० पैसासम्म घटबढ गर्न पाउने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यान्वयन भएसँगै ठूलो कारोबारमा १० पैसा मूल्य घट्दा पनि लगानीकर्ताको ठूलो रकम जोगिनेछ। त्यस्तै थोरै मूल्य भएका कम्पनीको सेयर खरिद बिक्री गर्दा १० पैसा घटबढ गर्न पाउने सीमाले किन्ने बेच्ने दुवैलाई फाइदा गर्ने छ।