धान उत्पादन बढे पनि चामल आयात वृद्धि

धान उत्पादन बढे पनि चामल आयात वृद्धि

काठमाडौं, ७ फागुन । मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको ६ महिनामा २६ अर्ब ९६ करोड ७५ लाख ४३ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । यो वर्ष धानको उत्पादन ७१ हजार टनले वृद्धि भएको सरकारी तथ्यांक छ । तर, खाद्यान्नको आयात भने अघिल्लो वर्षको तुलनामा दोब्बर छ । सरकारी अधिकारीका अनुसार मसिनो चामल खाने नेपालीको बानीका कारण चामल आयात बढेको हो । अर्कोतर्फ मुलुकबाट धान निर्यात भएर पुनः चामलका रूपमा आयात हुँदा ठूलो परिमाणमा चामल भित्रिएको छ ।

छिमेकी मुलुक भारतबाटै ठूलो परिणाममा खाद्यान्न आयात भएको छ । विभागका अनुसार ६ महिनामा चामलमात्र १६ अर्ब ६८ करोड ९४ लाख ९४ हजार रुपैयाँको आयात भएको छ । यस्तै सोही अवधिमा १४ अर्ब १२ करोड ६४ लाख ३ हजार रुपैयाँको मकै आयात भएको छ । मकै पोल्ट्री उद्योगमा दानाका लागि बढी आयात हुने गरेको छ । मकै मुलुकमै पर्याप्त उत्पादन गर्ने सम्भावना भए पनि उत्पादन नहुँदा ठूलो परिमाणमा आयात हुने गर्छ । यस्तै, ७ अर्ब २६ करोड २९ लाख ५६ हजारको गहुँ र गहुँको बीउ आयात भएको छ । सोही अवधिमा ८ अर्ब ४९ करोड ३० लाख ४६ हजार रुपैयाँको धानको बीउ आयात भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा।. योेगेन्द्रकुमार कार्की मसिनो चामल खाने बानीले गर्दा पनि ठूलो परिमाणमा मुलुकमा चामल आयात भएको बताउँछन् । मुलुकमा मोटो धान हुने उत्पादन हुने भएकाले मसिनो चामल खाने बानीले बढी आयात भएको उनको भनाइ छ । मुलुकमा धान भन्डारणको सुविधा र कुटान गर्न मिल नभएका कारणले गर्दा स्वदेशी धान भारत गएर चामल कुटाएर पुन नेपालमा भित्रिने गर्छ ।

मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादन ७० हजार ८ सय ३१ टनले उत्पादन बढेर ५६ लाख २१ हजार ७ सय १० मेट्रिक पुगेको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष पछिल्लो पाँच वर्षको अवधिमा सबैभन्दा बढी ५६ लाख २१ हजार ७ सय १० टन उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar