काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
हाल युनियन लाइफको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । चैत मसान्तसम्म यस इन्सुरेन्सले ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ७३ करोड ७ लाख १४ हजार रुपैयाँ रहेको छ । यस्तै, जीवन बिमा कोषमा ६ अर्ब ९० करोड रुपैयाँ भन्दा बढी जम्मा भएको छ ।