३५ लाख ५७ हजारले खोले डिम्याट खाता, के हो डिम्याट खाता र कसरी खोल्ने ?

३५ लाख ५७ हजारले खोले डिम्याट खाता, के हो डिम्याट खाता र कसरी खोल्ने ?

काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघेको छ। सिडिएस एन्ड क्लियरिङ हाउसका अनुसार आजसम्म ३५ लाख ५७ हजार ७ सय ८४ जनाले डिम्याट खाता खोलेका छन् ।

गत वर्षको असार मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या १६ लाख ८६ हजार १०२ थियो । सेयर बजारबारे जति बढी प्रचार, प्रसार बढेको छ त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएको छ।

डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्।

के हो डिम्याट ?

अंग्रेजी शव्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शव्द नै डिम्याट हो। नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ। विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो।अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे। २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो। हाल सेयर अभौतिक रुपमा अर्थात यहीं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ। जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफै जम्मा हुन्छ।

आइपिओ भरेपछि र दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ।

कसरी खोल्ने ?

यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरुमा खोल्न सकिन्छ। सहायक कम्पनी भएका बैंकहरुले नै यस्तो खाता खोलिदिन्छन्। त्यस्तै ब्रोकर कम्पनीहरुमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ। यस्तो खाता खोल्नका लागि बैंक खाता नम्वर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ। आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ।

धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन्। केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन्। डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar