सेयर बजारमा आकर्षण, ३५ लाखभन्दा बढीले डिम्याट खाता खोले

सेयर बजारमा आकर्षण, ३५ लाखभन्दा बढीले डिम्याट खाता खोले

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा ३५ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । जेठ २७ गतेसम्मको तथ्याङ्कअनुसार ३५ लाख ४९ हजार २४७ जनाले डिम्याट खाता खोलेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

गत वर्षको असारसम्ममा करिब १७ लाखको सङ्ख्यामा रहेको डिम्याट खाता खोलेका थिए । यो अवधिमा डिम्याट खाता खोल्नेको संख्या शतप्रतिशत वृद्धि भएको छ । पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा बढ्दै गएको हो ।

एक वर्षकै अवधिमा मेरो सेयर खाताको सङ्ख्या साढे तीन गुणाले बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो सेयर खाताको सङ्ख्यासमेत एक वर्ष नपुग्दै करिब साढे तीन गुणाभन्दा बढी वृद्धि भई हाल करिब २६ लाख पुगिसकेको छ ।

धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकामा हाल एउटै निष्कासनमा करिब १८ लाखले आवेदन दिने गरेको बोर्डले जनाएको छ ।
धितोपत्रको दोस्रो बजार अनलाइन कारोबार गर्नेको संख्या छ लाख ६० हजार रहेको छ भने औसतमा छ लाख लगानीकर्ता कारोबारमा सक्रिय रहेको देखिएको छ ।

प्रकाशित मिति:     २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar