काठमाडौं । विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तिजन्य पदार्थको सेवनका कारण जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा भने वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण ज्यान गुमाइरहेका छन् ।
विश्वभर ७८ करोडभन्दा बढी मानिसले सुर्तिजन्य पदार्थ प्रयोगलाई त्याग्न खोजिरहेको तर ती मध्ये एक तिहाइभन्र्दा कमले मात्रै त्याग्नका लागि सही परामर्श वा वातावरण पाएको संगठनको तथ्यांक छ । नेपालमा सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ जारी गरिएको छ ।
ऐनअनुसार सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिजन्य पदार्थ सेवन गरेमा एकसय रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुबै सजाय हुनसक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ ।