ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं, ६ फागुन । ग्रीनलाइफ हाइड्रोपावरकोे आइपीओ शुक्रबार बाँडफाँट हुने पक्का भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलले शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा बाँडफाँट हुने जानकारी गराएको छ । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

१३ लाख २६ हजार ७७ जनाले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ७।३० गुणा बढी हो । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३२ लाख ५१ हजार ६५२ कित्तालाई आधार मान्दा ३ लाख २५ हजार १६५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ९०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

ग्रीनलाइफले माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था रहेको थियो । यसले दोलखा जिल्लाको मारबु गाउपालिकामा, ४० मेगावटको खानीखोला १ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar