काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबार थप ५ वटा संस्थागत लगानीकर्तालाई बुक विल्डिङमा सहभागी हुन स्वीकृति दिएको छ । यससँगै, बुक विल्डिङमा आवेदन दिन योग्य संस्थागत लगानीकर्ताको संख्या कुल ८८ पुगेको बोर्डले जनाएको छ ।
बोर्डमा आवेदन दिएका संगठित संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश भएमा योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति दिने गरेको छ ।
बुक विल्डिङलाई सेयरको मूल्य पत्ता लगाउने वैज्ञानिक विधिको रुपमा पनि लिइने गरेको छ । धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ जारी गरिसकेको छ ।