सामसङ र एप्पललाई उछिनेर साओमी बन्यो नम्बर वान स्मार्टफोन

सामसङ र एप्पललाई उछिनेर साओमी बन्यो नम्बर वान स्मार्टफोन

काठमाडौं । कोरियाको सामसङ र अमेरिकाको एप्पललाई पछि पार्दै चीनको साओमी विश्वको नम्बर वान स्मार्टफोन ब्राण्ड बनेको छ । काउन्टरपोइन्टको पछिल्लो रिपोर्टका अनुसार भारतीय बजारमा अग्रणी ब्राण्डको रुपमा स्थापित साओमीले सामसङलाई यस वर्षको दोस्रो त्रैमासिकमा आएर पछि पार्न सफल भएको हो ।

२०२१ जूनको चार्ट अनुसार हाल स्मार्टफोनको विश्व बजारमा साओमीको हिस्सा १७.१ प्रतिशत, सामसङको १५.७ प्रतिशत र एप्पलको १४.३ प्रतिशत रहेको छ ।सामसङलाई साओमीले केही समयअघि युरोपेली बजारबाट विस्थापन सुरु गरेको थियो । त्यसपछि गत जूनमा आएर साओमीले नम्बर एक ग्लोबल स्मार्टफोन ब्राण्ड सामसङलाई विश्व बजारमै पछि पार्न सफल भएको हो ।

यद्यपी दोस्रो त्रैमासिकमा सामसङलाई पछाडी पारेको देखिए पनि २०२१ को दुबै त्रैमासिकको समग्र बिक्री परिमाणलाई गणना गर्ने हो भने साओमी अझै दोस्रो स्थानमा आउँछ । रिपोर्टका अनुसार २०२१ जूनसम्म आईपुग्दा साओमीको मासिक वृद्धिदर २६ प्रतिशत रहेको छ । यो परिमाणले कम्पनीलाई तिब्र गतिमा विकसित ब्राण्डको रुपमा स्थापित गर्नेछ । साओमीले २०११ म ब्राण्ड सुरु गरे यता हालसम्म ८० करोड स्मार्टफोन सेट बिक्री गरिसकेको छ ।

प्रकाशित मिति:     २२ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar