२७ थरको पितृथलो दैलेख र दाहालको वंशावली

२७ थरको पितृथलो दैलेख र दाहालको वंशावली

डिल्ली प्रसाद दाहाल (वंशावली लेखक तथा महासचिव दाहाल बन्धु अध्ययन प्रतिष्ठान,नाला,काभ्रे)

दैलेख आफ्नो पितृथलोको चाखपूर्वक भ्रमण सहित दैलेख दह गाउँ गुरुयोजनाको सार्वजनिकीकरण तथा दाहाल बन्धुका प्रथम पुरुष दाशु भट्टको पूर्ण कदको शालिक अनावरण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले जेठ ३१ दुल्लु नगरपालिका वडा नं। १२,दह गाउँमा गर्नु भएको थियो । शालिक अनावरण कार्यक्रम कुल शिरोमणी दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठान केन्द्रीय कार्यालय,कोटेश्वर काठमाडौंले आयोजना गरेको थियो ।

दैलेख दह गाउँ गुरुयोजनाको सार्वजनिकीकरण कार्यक्रमको आयोजना दाहाल बन्धु अध्ययन प्रतिष्ठान केन्द्रीय कार्यालय नाला, काभ्रे, दाहाल सेवा समाज केन्द्रीय कार्यालय कास्की,पोखरा र दाहाल कल्याणकारी समाज केन्द्रीय कार्यालय चितवनले गरेको थियो । कार्यक्रमको सभापतित्व कुल शिरोमणी दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष मुकुन्द प्रसाद दाहालले गर्नु भएको थियो भने स्थानीय बन्धुहरुको तर्फबाट स्वागत मन्तब्य दैलेखका संघीय सांसद रविन्द्रराज शर्मा रुपाखेतीले गर्नु भएको थियो । दाशु प्रशस्ति वाचन दाहाल बन्धु अध्ययन प्रतिष्ठान,नाला,काभ्रेका अध्यक्ष यज्ञप्रसाद दाहालले गरिएको कार्यक्रम संचालन दाशु प्रतिष्ठानका कोषाध्यक्ष पदम प्रसाद दाहालले गर्नु भएको थियो प्रधानमन्त्रीज्यूलाई अभिनन्दन गरिएको सम्मान पत्रको ब्यहोरा पूर्व न्यायधीश तथा दाशु प्रतिष्ठानका कार्य समिति सदस्य ओमकार दाहालले वाचन गर्नु भएको थियो ।

कार्यक्रममा दाहाल कल्याणकारी समाज केन्द्रीय कार्यालय चितवनका अध्यक्ष बाबुराम दाहाल र दाहाल बन्धुका अभियान्ता किशोर कुमार दाहाललाई सम्मान गरिएको थियो । पितृथलो दैलेखको मष्टको थान, कुवा तथा दह, दरबार र पञ्चदेवलको साक्षात्कार प्रधानमन्त्रीज्यूलाई वंशावली लेखक तथा दाहाल बन्धु अध्ययन प्रतिष्ठान नाला काभ्रेका महासचिव डिल्ली प्रसाद दाहालले गराउनु भएको थियो । यस कार्यक्रममा दाहाल सेवा समाज केन्द्रीय कार्यालय कास्कि,पोखराका अध्यक्ष छविराज दाहाल,प्रदेश सांसद धनस्याम भण्डारी, प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, दुल्लु नगरपालिकाका मेयर भरतप्रसाद रिजाल,प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल सोहि वडाका वडाध्यक्ष लिलाराम लम्साल लगायत जिल्लाभरका भद्रभलादमीको उपस्थिति रहेको थियो । दह गाउँ डेउडा गीत स्थानीय बाजागाजा झांकी सहित दुलही झै सिगारिएको उक्त कार्यक्रममा करिब ३ हजार जना देश भरिका दाहालको प्रतिनिधित्व सहित स्थानीय जनप्रतिनिधि र भद्र भलाद्मीको बाक्लो उपस्थिती रहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २७ थरको पितृथलो रहेको पञ्चकोशी आयोजना र प्रस्तावित गुरुयोजना दैलेख जिल्लाको विकासको कोशेढुङगा सावित भएको र ती आयोजना सफल पार्न आफू सकारात्मक रहेको जानकारी गराउनु भयो ।

वत्सगोत्रीय दाहाल, लम्साल तथा रुपाखेती सहित २७ थरको पितृथलो दैलेखको चिनारी

ब्राम्हण क्षेत्रीहरुको मुलथलो जुम्लाको सिंजा उपत्यका भएको र सोहि ठाउँबाट संस्कृत भाषाको आधारमा खस भाषा विकास भएको पाईन्छ । अलेक्जेण्डर महानले सिन्धु नदी तरेर भारत कब्जा गर्न आए र आफु फर्कदा घेराबन्दी परिने डरले बाटामा परेका वस्तिहरुमा आगलागी गरि तहसनहस पार्दै आएकोले तत्कालिन मानिसहरु ज्यान जोगाउँन पुर्वतर्फ भाग्न थाले । यसरी पुर्वी पहाडतिर बस्ति बढ्न गै कुमाउ गढवाल देखि सिंजा उपत्यकामा मानव वस्ति बढ्न गयो । पटकपटक दिल्ली आक्रमण हुँदा सन ११९१ मा हिन्दु सम्राट पृथ्वीराज चौहानको पराजय भै ईरानी सम्राट मोहमद घोरी दिल्लीका बादशाह बने ।

हिन्दु सम्राटहरुको दिल्ली मुसलमानको हातमा पुगेपछि अल्पसंख्यक मुसलमान र हिन्दु समाजबीच मेलमिलाप रहन सकेन भने विभिन्न घटनाहरुमा पिडित ब्राम्हणहरु आफ्नो धर्म संस्कार बचाउन पहाड तर्फ आउनेक्रममा जुम्ला, दैलेख, अछाम लगायत पश्चिम नेपाल भरिभराउ भै यस क्षेत्रको केन्द्र जुम्लाको सिंजा बन्यो । सिंजाका राजाहरुको हिउंदे दरवारको रुपमा रहेको दैलेखको दुल्लु तथा विलासपुर राज्यहरुमा हिन्दु बाहुल्य राजाहरु रहन थाले । सोहि क्रममा वत्सगोत्रीय दाहाल, लम्साल, रुपाखेती र कुँवर राणाहरुका पुर्खा दाशु भट्टले दुल्लुका राजकुमारहरुको ब्रतबन्ध रितपुर्वक गरेकाले आफ्नो राज्यमा बस्न आग्रह गर्दै दहगाउँ बिर्तादान दिए । सो ठाउँ पाएपछि दाशु भट्टले समाज सहित बसोवास गरेका र उहांका ४ छोरा मध्ये जेठा र कान्छा दह गाउँ बसोबास गरेकाले दाहाल थर रहन गयो भने दुल्लुका पुजारी भै बसेका माईला छोराले लम्सु गाउँ विर्ता पाई लम्साल थर रहन गयो ।

साईला छोरा पनि विलासपुर राजाकोमा पुरोहित रहेका र रुपावेसीटारको रोपेको खेत दान पाएकोले उनको थर रुपाखेती रहन गयो । दाशु भट्टका कान्छा छोरा सिवराम त्यहांबाट दाङ आईबसेका र उनका जेठा पनाती तुलाराम नुवाकोटको झिर्लिङ हुदै काभ्रेको नाला आई महादेवपोखरी बिर्ता पाई बसेका थिए भने कान्छा पनाती बिष्णु दास सल्यान तिर बसाई गएकोले तिनीहरुका सन्तती सल्यान, रुकुम र रोल्पामा फैलिए । नाला आई बसेका तुलारामका ३ छोराहरु मध्ये साईला शंकर पाध्य नालामा नै बसेतापनि उनका माइला दाजु हरि पाध्य सिन्धुली झांगाझोली तथा कान्छा घुरु पाध्य दोलखा हुदै ओखलढुंगा भै बसोवास गरे । वसाईसराईकै क्रममा दाहाल सहित लम्साल र रुपाखेती बन्धुहरु पुर्वी नेपाल तथा भुटान, बर्मा र थाईल्याण्ड सम्म फैलिएका छन् ।

दाहालहरुका पाँचौ पुस्ताका तुलाराम पाध्यले नुवाकोटको झिर्लीङमा आफ्ना जेठा छोरालाई छाडी बा“की ३ छोरा सहित भक्तपुरका राजासंग काभ्रे जिल्लाको नाला विर्तामाग गरेकोले सोहि ठाउमा विर्ता व्यवस्था गर्न नालामा रहेका आफ्ना काजी सहस्ररामलाई अह्राउदा महादेवपोखरी नाला विर्ता पाई दाहालहरु बसेको पाईन्छ । साईला शंकर पाध्य नालामा नै बसेको अरु २ भाई पुर्व गएकोले उपत्यका देखि पुर्वका सबै दाहाल बन्धुहरु यिनै ३ भाइका सन्ततिहरु हुन् । मुलथलो दैलेखदेखि नालासम्म एकै प्रकारको कुलपुजा विधि रहेतापनि पूर्व गएका दाहालबन्धुहरु पूर्णिमामा दुध बार्ने लगायतका केही फरक संस्कारहरु अपनाउदछन् ।

दाहाल बन्धु अध्ययन प्रतिष्ठान गठन र दैलेखसंगको सहकार्य

नालाबाट अछामका विचारी र डोटीका डिट्ठा भै गएका २ भाईले दैलेखको बाटो गरी आउजाउ गर्दा आफ्नो पितृथलो पत्ता लगाई सो ठाउँबाट नाला आएका पुर्खाहरुको नाम लेखेर राखेका हुनाले सो क्रम उनिहरुका सन्ततिले पछ्याएर वंशावली टिपोटहरुको आधारमा वंशावली निर्माण गर्न बि।सं।२०५१ सालमा उपत्यकामा दाहालहरुको भेला भएको थियो । सो भेलाले तत्कालिन पुर्व परराष्ट्र मन्त्री शैलेन्द्रकुमार उपाध्याय तथा प्रधानन्याधीश विश्वनाथ उपाध्याय दाहाल लगायतको एउटा समिति निर्माण गरि सो समितिको प्रतिनिधीको रुपमा शैलेन्द्रकुमार उपाध्याय तथा हाम्रा श्रद्देय अध्यक्ष यज्ञ प्रसाद दाहालले दैलेख भ्रमण गर्नुभएको थियो । सो समय प्रविधीको अभाव तथा बन्धुहरुको सक्रीयता हुन नसकेर बि.सं.२०६५ मा मात्र पहिलो वंशावली तयार भयो जसमा ऐतिहासिक ठाउ“ नालाको बन्धुहरुको नाम कम समावेस थियो । सो वंशावली काठमाण्डौमा सबैलाई समेटेर बनाउनुपर्नेमा विराटनगरका बन्धुहरुले हतारमा गरेको तथा हालको कोशी प्रदेशमा केन्द्र रहेकोले सो संस्थाले हाम्रा बन्धुहरु समेट्न नसक्ने निष्कर्ष सहित नालामा रहेका दाहाल बन्धुहरुले आफ्नो धर्मसंस्कृति संस्कार पुस्तान्तरण गर्न र इतिहास खोजी गरी वंशावली निर्माण गर्ने उद्देस्यले २०६७ मा बनेपा नगरपालिकामा भेला भै यस प्रतिष्ठानको गठन गरि क्रमस निम्न कार्यहरु गरेको छ ।

क)बि.सं. २०६९ पौषमा ४८ जना बन्धुहरुको टोली दैलेख भै पितृथलोको अवलोकन गर्यो । लगतै दैलेखबाट १८ जना बन्धुहरु नाला आउनुभयो ।

ख) दैलेखको भ्रमणमा त्यहांका बन्धुहरुले पहिलो पुस्ताका बुहारीहरु आगलागीमा परि मरेको विवरण सुनी २०७० सालमा हाम्रो मुल घडेरीमा सप्ताह लगाई ति जलेका आत्माहरुको मोक्ष कामना गरियो र हाम्रो मुल घडेरी रहेको जग्गा बिक्रीमा रहेकोले यस अध्ययन प्रतिष्ठानले खरिद गर्ने निर्णय अनुसार खरिद गरियो । सो पछि नालामा सप्ताह लगाई बन्धुहरुको दानबाट कुल भवन निर्माण गरियो । कुल भवनको घडेरी तथा नाला देखि दैलेख सम्मका केहि जग्गा खरिद पनि बन्धुहरुको दानबाट गरियो । दैलेखको पञ्चदेवल आकारको शिवमन्दिर बनाउन बन्धुहरुको आग्रह बमोजिम नालाको कुलपुजास्थलमा स्थान अभावका कारण पञ्चगजुर शिवमन्दिर हालै सम्पन्न भयो ।

ग) स्थापना हुदै वंशावली निर्माण गर्ने उद्देस्य भएकोले वंशावली टिपोट गरि नेपालको नक्सामा हाम्रा पुर्खाहरुको आगमन सचित्र वर्णन गरी आधुनिक वंशावली तयार गरियो । कुल भवन पनि बनेको र वंशावली तयार भएपछि हाम्रो कुलका प्रधानमन्त्री भैसकेका व्यक्ति तत्कालिन पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाट बि।सं।२०६५ जेष्ठ १० गते भवन उद्घाटन तथा वंशावली विमोचन कार्यक्रम सम्पन्न गरियो । सोहि कार्यक्रममा हाम्रा प्रमुख अतिथिले नालाका बन्धुहरुसंग दैलेख जाने बचन दिनुभएको थियो ।

घ) दाहल बन्धुहरु स्वभावैले सहकार्यमा विश्वास गर्ने हु“दा देशभरका बन्धुहरु समेटी वंशावली निर्माण गरियो भने गत बर्ष २०७८ मा दाहाल प्रतिष्ठान केन्द्रीय कार्यालय, दमक, झापा, दाहाल सेवा समाज केन्द्रीय कार्यालय कास्कि,पोखरा र रुपाखेती दाहाल कुल कल्याण प्रतिष्ठान केन्द्रीय कार्यालय ,काठमाडौं सबै संस्थाहरुलाई समेटी दाहाल महासंघ बनाउन पहल सुरुवात गरिएको थियो । दैलेखपछि नाला दाहालहरुको ऐतिहासिक स्थल रहेकोले सबै दाहाल सम्बद्ध संस्थाहरुको एकीकरणको पहल यस प्रतिष्ठानले गरेको थियो ।

ङ) दैलेखको पितृथलोको लागि केहि गर्नसके त्यहांका बन्धुहरुसंगको सहकार्य हुनुका साथै हाम्रो इतिहास आगामी पुस्तालाई हस्तान्तरण गर्न सकिने आसयले सो ठाउको गुरुयोजना बनाई चरणबद्व विकास गर्ने उद्देस्यले प्रारम्भिक गुरुयोजना बनाई सबै दाहाल तथा सगोत्रीय संस्थाहरुमा अध्ययन गरि सुझाव दिन आग्रह गरियो । यसैक्रममा बन्धुहरुबाट प्राप्त सुझाव समेटी तयार पारिएको गुरुयोजनाले सबै बन्धुहरुलाई उचित लागेकोले यस प्रतिष्ठान सहित कास्की, दैलेख तथा चितवनका बन्धुहरुको विशेष आग्रहमा गुरुयोजना सार्वजनिकीकरण कार्यक्रम गर्ने निर्णय गरियो । आफ्नो पितृथलो दह गाउ गुरुयोजनाको सार्वजनिकीकरण तथा हाम्रा प्रथम पुरुष दाशु भट्टको शालिकको अनावरण निमन्त्रणाको खबर पाउनासाथ भ्रमणको सहमती जनाएका सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले सो कार्यक्रमको प्रमुख आतिथ्यता गर्नु भएको थियो ।

काभ्रेका दाहाल बन्धुहरुले दशक अघि आफ्नो वंशको लागि केहि गर्ने अठोटका साथ खोलेको दाहाल बन्धु अध्ययन प्रतिष्ठान, नाला काभ्रेले आधुनिक वंशावली वनाई देशभरका बन्धुहरुको वंश नंम्बर कायम गरी आफ्ना पितृहरुको आत्मसम्मान बढाउनुका साथै बन्धुहरुको आपसी प्रेम र सद्भाव बढाएको छ । दाहाल प्रतिष्ठान विराटनगर तथा झापा लगायत देशभर रहेका दाहाल कल्याणकारी संस्थाहरुसंग सुमधुर सम्वन्ध रहेको यस प्रतिष्ठानले छोटै समयमा पितृथलोमा ऐतिहासिक कार्य सम्पन्न गरिसकेको छ । राजा महाराजाहरुको मात्र वंशावली देखेको नेपाली समाजले आफ्ना पुर्वजको पनि वंशावली जो सुकै जनले गर्न सक्दछ भनि प्रमाणित गरेको छ । हाम्रो प्रतिष्ठानको सक्रियता पछि तिमल्सिना समाजले पनौती नगरपालिका खड्पुमा विन्ध्यवासिनि प्रतिष्ठान खोली उल्लेख्य विकास गरिसकेको छ भने धेरै थरका वंश समितिहरु निर्माण हुनेक्रम जारी छ । सन्तानको लागि जिवनभरको कमाई स्वइच्छाले छाड्ने र बुढेसकालमा दुःख पाउने तर पुर्खाको लागि खासै योगदान नगर्ने समाजको आंखा खोलिदिएको छ । दैलेखबाट देशभर फैलिएर रहेका २७ थरका मुल वासिन्दा जो दैलेखमा नै हुनुहुन्छ उहांहरुलाई पनि आ–आफ्ना बन्धुहरुलाई केहि गर्न दवाव बढाउने कार्य गरेको छ ।

एकवार पाएको मानवचोला आफ्ना सन्तानलाई संस्कार दिन र पुर्वजको उद्वारको लागि पनि हो भन्ने मान्यताका साथ आफ्नो पितृथलोको व्यवस्थित विकास गर्न गुरुयोजना सहित हाम्रा पहिलो पुर्खाको शालिक पनि तयार गरि अनावरण गरिसकियो । अब अरु ईष्टमित्रहरुले पनि हाम्रो कार्यको अनुसरण पक्कै गर्नेछन् र उनिहरुको भातृत्व विकास पनि हाम्रो भन्दा उत्कृष्ट रहोस भन्ने कामना गरिन्छ ।

प्रकाशित मिति:     ५ असार २०८०, मंगलवार  |    Himali Khabar