चैत दोस्रो साताबाट काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

चैत दोस्रो साताबाट काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

काठमाडौं, २६ फागुन । मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको लामो समयदेखिको सपना अब केही सातादेखि साकार हुँदैछ । चैतको दोस्रो साताबाट उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी
वितरण गरिने उनले जानकारी दिए ।

परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन १० गते करिब २७ किलोमिटर लामो सुरुङमा पानी प्रवाह गराइएको थियो । कार्यकारी निर्देशक खत्रीका अनुसार काठमाडौँ उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ । सुरुङ सफा गर्ने काम भएकाले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ ।

प्रकाशित मिति:     २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar