साना लगानीकर्तालाई सेयर बजार प्रवेशमा बन्देज लगाउने बाटोमा धितोपत्र बोर्ड

साना लगानीकर्तालाई सेयर बजार प्रवेशमा बन्देज लगाउने बाटोमा धितोपत्र बोर्ड

काठमाडौं, २२ फागुन । सेयर बजारमा साना लगानीकर्तालाई प्रवेशमा बन्देज गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डले नीति परिमार्जन गर्ने तयारी गरेको छ। केही दिनअघि एक टेलिभिजन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले प्राथमिक सेयरमा न्यूनतम १० कित्ता आवेदन दिन सकिने नीति परिमार्जन गर्ने र कम्तीमा ५० कित्ताका लागि आवेदन दिने व्यवस्था कायम गरिने बताएका थिए ।

बोर्डले यसबारे छिटै सरोकारवालाहरुसँग छलफल गरेर निर्णय गर्ने जनाएको छ। बोर्डमा यस विषयमा छलफल पनि सुरु भइसकेको छ । लाभ–हानीको अध्ययन गरेर नीति परिवर्तन गरिने अध्यक्षले बताएका छन् । १० कित्ता नीतिको पछिल्लो समय फाइदा कम बेफाईदा धेरै हुन थालेको बोर्डको निश्कर्ष छ।

‘लगानीकर्ताको संख्या बढेसँगै १० कित्ता आईपीओ पाउन पनि समस्या भएको छ र त्यसले लगानीकर्तालाई उचित प्रतिफल समेत नदिने भएकाले त्यसलाई परिवर्तन गर्नपर्छ की भन्ने मनस्थितीमा बोर्ड छ,’ अध्यक्ष ढुंगानाले भने, ‘१० वटा कम्पनीको आइपीओ भर्दा बल्ल १० कित्ता पाउँने अवस्था भयो, यसले गर्दा परिहाल्यो भने पनि ५० कित्ता पर्ने व्यवस्था गर्न सकियो भने लगानीकर्ताहरुलाई नै फाइदा हुन्छ । १० कित्ता पर्दा पनि खासै फाइदा हुने अवस्था देखिएन, यो त लगानी हो नी त्यसको केही प्रतिफल त पाउनुपर्यो रु गाह्रो साह्रो परेर बेच्दा कमशेकम एउटा गर्जो त टरोस् न ’

तर शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने यो नीति परिमार्जन गर्ने बेला नभएको बताए । यो नीतिले हरेक नागरिको हातमा शेयर पु¥याउने अवस्था सृजना गरेको भन्दै उनले १० कित्ते भनेर हतोत्साही गरिहाल्नुपर्ने बेला नभएको बताए ।

बोर्डले २०७५ को चैतमा आइपिओ भर्ने सबैलाई पुगेसम्म १० कित्ता प्राथमिक सेयर बाँड्नुपर्ने व्यवस्था गर्नुअघिसम्म न्यूनतम आवेदन दिन सकिने संख्या ५० थियो । त्यसअघि कम्पनीहरूले लगानी रकम नै तोकेर साना र ठूला लगानीकर्ता भनेर बाँडफाँडसमेत गर्ने चलन थियो । चैतमा न्यूनतम १० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्थाले भने प्राथमिक बजारमा साना र ठूला लगानीकर्ताबीचको विभेद भने हटेको छ ।

अहिले डिम्याट खाता खोल्नेको संख्या ३० लाख पुगेको छ । प्राथमिक सेयर बजारमा १० कित्ताको नीतिले विद्यार्थी, गृहिणीलगायत १ हजारसम्म लगानी गर्न सक्ने साना लगानीकर्ताले अवसर पाइरहेको अध्यक्ष अर्यालले बताए । सोही कारण पनि दोस्रो बजारभन्दा कम जोखिम मानिने यसमा अहिले सर्वसाधारणले पाइरहेको अवसर रोक्न नहुने तर्क छ।

अहिले दोस्रो बजारमा समेत न्यूनतम १० कित्ता सेयर किनबेच गर्न सकिन्छ ।

प्रकाशित मिति:     २२ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar