राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा

राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा

काठमाडौं । संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाले बुधबार युक्रेनमाथि रूसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ।
नेपालले उक्त प्रस्तावका पक्षमा मतदान गरेको छ। यसअघि गत सोमबार जेनेभामा भएको राष्ट्र संघीय मानव अधिकार परिषदमा पनि नेपालले युक्रेनका विषयमा आपतकालीन छलफल हुनुपर्ने पक्षमा मत हालेको थियो।

बुधबार राति भएको महासभाको मतदानमा चीन र भारत भने अनुपस्थित रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। गत बिहीबार रूसले युक्रेनमाथि आक्रमण गरेको थियो।

सुरूदेखि नै यी दुई मुलुकले आक्रमणको विरोध गरेका छैनन्। मानव अधिकार काउन्सिलको मतदानमा त चीनले रूसको पक्षमा मत हालेको थियो। बुधबारको मतदानमा भारत र चीनसहित ३५ मुलुक अनुपस्थित भएका थिए।

प्रकाशित मिति:     १९ फाल्गुन २०७८, बिहीबार  |    Himali Khabar