एमसीसी अनुमोदनको स्वागत गर्दै अमेरिकाले भन्यो– नेपालको विकासमा सधैं साथ रहन्छ

एमसीसी अनुमोदनको स्वागत गर्दै अमेरिकाले भन्यो– नेपालको विकासमा सधैं साथ रहन्छ

काठमाडौं । नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि अमेरिकाले त्यसको स्वागत गरेको छ। नेपालले आइतबार राति ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरेसँगै अमेरिकाले विज्ञप्ति जारी गरेर स्वागत गरेको हो।

संसदबाट अनुमोदन भएसँगै एमसीसी कार्यान्वयनको दिशामा अगाडि बढ्न सक्ने अवस्था सिर्जना भएको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो,’ दूतावासले विज्ञप्तिमा भनेको छ, ‘अब यस कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्नसक्ने अवस्था बनेको छ।’

एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा रहेको विज्ञप्तिमा उल्लेख छ। ‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ,’ अमेरिकाले भनेको छ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar