पर्यटन व्यवसायीलाई टानको चुनाव लाग्यो, अध्यक्षका दाबेदारहरु थपिदै

पर्यटन व्यवसायीलाई टानको चुनाव लाग्यो, अध्यक्षका दाबेदारहरु थपिदै

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४२ औं र ४३ औं साधारण सभा तथा अधिवेशनको मिति आगामी माघ २८ गतेलाई तय भएसँगै पर्यटन व्यवसायीहरु टानको नयाँ नेतृत्व चयनको विषयमा छलफलमा जुट्न थालेका छन् ।

कोरोनाका कारण ४२ तथा ४३औँ साधारणसभा तथा अधिवेशन एकै पटक गर्न लागिएको हो । आगामी नेतृत्वका लागि पर्यटन व्यवसायीहरु समूहगत छलफलमा जुटेका छन् । टानको अध्यक्षको दावेदारी प्रस्तुत गर्दै आएका व्यवसायीहरु आफू निकट राजनीतिक संगठन पदाधिकारीहरुसँग छलफल सुरु गरिसकेका छन् ।

अहिलेसम्म टानको आगामी अध्यक्षका लागि वर्तमान सचिव दामोदर ढकाल, राजेन्द्र सापकोटा, निलहरि बाँस्तोला, बोधराज भण्डारीले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । योसँगै हालका वरिष्ठ उपाध्यक्ष नविन त्रिताल, उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, महासचिव सरिता लामाको नाम पनि चर्चामा छ ।

यद्यपी निर्वाचनमा पार्टीगत प्यानल निर्माणसहित चुनावीमैदानमा होमिने हुँदा उम्मेदवार चयनमा विभिन्न पार्टीगत संगठनको महत्वपूर्ण भूमिका रहने गर्दछ । विसं २०३५ मा स्थापना भएको सस्थामा हाल देशभर दुई हजारका हाराहारीमा पर्यटन व्यवसायी आवद्ध छन् ।

प्रकाशित मिति:     १६ पुष २०७८, शुक्रबार  |    Himali Khabar