पर्यटन बोर्डका सिईओ रेग्मीलाई निलम्बन नगर्न सर्बोच्चको अन्तरकालीन आदेश

पर्यटन बोर्डका सिईओ रेग्मीलाई निलम्बन नगर्न सर्बोच्चको अन्तरकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ ।

पुस २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध रेग्मीले सर्वोच्च अदालतमा रिट दिएका थिए । बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले उनको निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले रेग्मीलाई गरेको कारबाहीको विषयमा मन्त्रालयसँग लिखित जवाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि दुबै पक्षलाई माघ ३ गते छलफलमा बोलाएको छ । विदेशबाट फर्किँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेका रेग्मीलाई मन्त्रालयले लिखित स्पष्टीकरण सोधेको थियो । पर्यटन बोर्ड सञ्चालक समितिले रेग्मीमाथि छानबिन गर्न एक समिति पनि गठन गरेको थियो ।

प्रकाशित मिति:     १४ पुष २०७८, बुधबार  |    Himali Khabar