नेपाल वायुसेवा निगमको ऋण ५० अर्ब पुग्यो, जहाज किन्ना भन्दै अझै १५ अर्ब माग

नेपाल वायुसेवा निगमको ऋण ५० अर्ब पुग्यो, जहाज किन्ना भन्दै अझै १५ अर्ब माग

काठमाडौं । नेपाल वायुसेवा निगम व्यवस्थापनको ध्यान भएको जहाज चलाउने भन्दा पनि नयाँ खरिदमै केन्द्रित छ । अहिले भएका १३ वटा जहाज राम्रोसँग चलाउन नसकेको अवस्थामा निगम व्यवस्थापनले फेरि नयाँ खरिद गर्ने सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ ।

भएका १३ वटा जहाजमध्ये ७ वटा ग्राउन्डेड छन्, बाँकी ६ मध्ये २ वटा न्यारोबडी, १ वाइडबडी र ३ वटा ट्वीनअटर जहाजले निगमको वित्तीय दायित्वलाई पुरा गर्न सकेको छैन । तर व्यवस्थापनको ध्यान भएका जहाज पूर्ण क्षमतामा संचालन गर्ने र खर्च कटौती गर्नेभन्दा पनि फेरि किन्नेमा केन्द्रित छ । निगमको कार्यकारी अध्यक्षमा एक महिना अघि मात्र नियुक्त भएका युवराज अधिकारीले नयाँ जहाज किन्न सरकारसँग १५ अर्ब रुपैयाँ ऋण मागेका छन् ।

निगमको ऋण अहिले ५० अर्ब रुपैयाँ पुगिसकेको छ। दुईवटा वाइडबडी जहाज खरिदका लागि लिएको २५ अर्ब ऋण बढेर ३२ अर्ब रुपैयाँ पुगेको छ। निगमले दुईवटा जहाज खरिदमा लिएको ऋणको साँवा र किस्ता रकमसमेत तिर्न समस्या हुन थालेको मात्र छैन। अवकाशप्राप्त कर्मचारीलाई पेन्सन खुवाउन समेत समस्या हुन थालेको निगम स्रोतले जनाएको छ । यतिसम्म कि पेन्सन बुझ्न आलोपालो प्रणाली लागू पर्नुपर्ने अवस्था आउन लागेको छ ।

निगमको आम्दानीको मुख्यस्रोत जहाज उडाउनु हो । त्यसका लागि व्यवसाय विस्तार अत्यावश्यक छ । व्यवसाय विस्तारका लागि नयाँ जहाज अपरिहार्य छ ।

प्रकाशित मिति:     १० पुष २०७८, शनिबार  |    Himali Khabar