राष्ट्र बैंकको डेपुटी गभर्नर खाली, कसको सम्भावना कत्ति ?

राष्ट्र बैंकको डेपुटी गभर्नर खाली, कसको सम्भावना कत्ति ?

काठमाडौं, १९ फागुन । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले हिजोदेखि अवकाश पाएका छन् । योसँगै राष्ट्र बैंकमा नयाँ डेपुटी गभर्नर नियुक्तिको गृहकार्य सुरु भएको छ ।

गभर्नरको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ । सोही व्यवस्थाअनुसार गभर्नरले चार जनाको नाम सिफारिस गर्नेछन् । त्यसमध्ये सरकारले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ ।

राष्ट्र बैंक स्रोतका अनुसार आजदेखि सिफारिस प्रक्रिया सुरु हुनेछ । राष्ट्र बैंकका कार्यकारी निर्देशक मध्ये गभर्नरले रिक्त पदको दोब्बर संख्यामा नाम सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमा छ । यसका लागि राष्ट्र बैंकमा बहालवाला १७ जना कार्यकारी निर्देशकको बायोडाटा संकलन भइसकेको छ ।

गर्भनरका लागि आर्थिक सल्लाहकार समेत रहेका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ, राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नीलम ढुंगाना तिम्सिना, बैंक तथा वित्तीय संस्था नियमन विभागका देवकुमार ढकाल र अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम बढी चर्चामा छ । उसो त १७ जनै कार्यकारी निर्देशकले डेपुटी गर्भनरमा दावेदारी प्रस्तुत गरेका छन् ।

श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेलका रोजाईका पात्र हुन सोही कारण उनी अर्थमन्त्रीको सल्लाहकार समेत चुनिएका हुन । यो बाहेक प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलका समेत विश्वासको पात्र भएकाले उनको सम्भावना प्रवल रहेको बताइन्छ । यस्तै ढुंगाना राष्ट्र बैंककी एकली महिला कार्यकारी निर्देशक हुन । योसँगै उनको राष्ट्रपति विद्यादेवि भण्डारीसँग समेत राम्रो सम्बन्ध रहेकाले उनको सम्भावना पनि उत्तिकै छ । तर प्रधानमन्त्री ओलीले एउटा डेपुटी गभर्नरको भाग नेपाली कांग्रेसलाई समेत दिने सम्भावना प्रवल रहेकाले यी दुई मध्ये एक जना मात्र छानिने सम्भावना प्रबल रहेको स्रोतले बताएको छ। कांग्रेसको भागमा परेको खण्डमा भट्टको सम्भावना प्रवल छ । उनी सुदूरपश्चिमको समेत भएकाले सभापति शेरबहादुर देउवाले उनको नाम सिफारिस गर्ने सम्भावना धेरै छ ।

यस्तै बमबहादुर मिश्र, भुवन कडेल, सुमन कुमार अधिकारी, रेवती नेपाल र रामु पौडेलको पनि चर्चा उस्तै छ ।

प्रकाशित मिति:     १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar