अर्थमन्त्रीको स्पष्टि: स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न ल्याएका नीतिगत व्यवस्था परिवर्तन हुदैन

अर्थमन्त्रीको स्पष्टि: स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न ल्याएका नीतिगत व्यवस्था परिवर्तन हुदैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न ल्याएका नीतिगत व्यवस्था परिवर्तन नहुने बताएका छन् । आन्तरिक राजस्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्ने गरी गरिएको व्यवस्था परिवर्तन नहुने प्रष्ट पारे ।

‘मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु,’ उनले भने ।

स्वदेशी उत्पादनमा आधारित र रोजगारी सृजना गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता नहुने उनले स्पष्ट पारे । आयातमा आधारित राजस्वभन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजस्व बढाउनुपर्नेमा उनले जोड दिए ।

उनले यसतर्फ थप सक्रियताका साथ काम गर्न निर्देशन दिए । करका दरसम्बन्धी थप सुधारका काम कर पुनरावलोकन आयोग गठन गरेर सम्पन्न गरिने अर्थमन्त्री शर्माले जानकारी गराए । यसअघि आफूले आन्तरिक राजस्व दोब्बर बनाउने गरी योजना माग गरेको विषयलाई कतिपयले खिसिट्यूरी गरेकोमा चित्त समेत दुखाए ।

प्रकाशित मिति:     २९ भाद्र २०७८, मंगलवार  |    Himali Khabar