आगामी चैतसम्ममा मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने तयारी

आगामी चैतसम्ममा मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने तयारी

काठमाडौं । आगामी चैतसम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र अन्यसंरचना मर्मत अघि बढाइने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । हेडवर्कमा कति क्षति भएको छ त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ ।

अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताए ।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar