पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय एक वर्ष थपियो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय एक वर्ष थपियो

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कामसक्ने समय एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए ।

कोभिड–१९ को कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही इक्युपमेन्टको कारणले समय थप गर्नु परेको बताइएको छ ।उनले विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्याण्डफिल साइड हटाउने कार्य पनि समस्याको रूपमा रहेको र यसबारेमा पनि कार्य अघि बढेको जानकारी दिए ।

विमानस्थल निर्माणका लागि ७०० जति जनशक्ति रहेकामा अहिले ४०० को हाराहारीले काम गरिरहेका छन् । चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको सो विमानस्थल कूल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि शुरू भएको थियो । सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । आयोजनाका इञ्जिनीयर मिनराज ओझाका अनुसार हालसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ ।

फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्युपमेन्ट जडान, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेको छ ।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar