नेपालमा यास् चक्रवातको असर : हिमाल आरोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह

नेपालमा यास् चक्रवातको असर : हिमाल आरोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह

काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई पनि तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ । कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको छ ।

प्राधिकरणका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना छ भने गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति:     १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar