पाटाको अध्यक्षमा सुमन पाण्डे निर्वाचित

पाटाको अध्यक्षमा सुमन पाण्डे निर्वाचित

काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।

गत मार्च महिनामा सम्पन्न निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेज़ले आफ्नो मनोनयन फिर्ता लिएपछि उपाध्यक्षमा पाण्डे निर्विरोध भएका हुन्। पूर्ण कार्यसमितिको नतिजा अनुगमन समितिबाट पेश भएपश्चात आज जुन ७ मा भएको पाटाको साधारणसभाबाट अनुमोदन भएको हो।

सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालको पाटामा यो तहको जिम्मेवारीमा पहिलोपटक प्रतिनिधित्व भएको हो । पाण्डे यसअघि २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा रहेका थिए।

नेपालको तर्फबाट पाटामा अहिलेसम्मकै माथिल्लो पदमा पुग्ने पाण्डे पहिलो नेपालीसमेत भएका छन्। उपाध्यक्ष भएसँगै प्रतिक्रिया दिँदै पाण्डेले नेपालको पर्यटक क्षेत्रका मूख्य तीन निकाय नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण नै ध्वस्त भएको बताउँदै पाटाले सहयोग गर्ने बताए। नेपालको पर्यटनमा पाटाले धेरै सहयोग गर्दै आएको र आगामी दिनमा अझै मानव संशाधनको क्षेत्रका झनै सहयोग बढाउने कार्यमा भूमिका खेल्ने उपाध्यक्ष पाण्डेले बताए।

यस्तै पाटाको अध्यक्षमा इण्डोनेशियाका पिटर सिमोन, सचिव तथा कोषाध्यक्षमा थाइल्यान्डका एसियन ट्रैलस निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा थाइल्यान्ड बेन मोनटगोमरी, भारतका सञ्जित जैन र सिंगापुरका मयूर पटेल निर्वाचित भएका छन्।

प्रकाशित मिति:     २५ जेष्ठ २०८१, शुक्रबार  |    Himali Khabar