भारतले नेपाललाई बिजुली दिन आनाकानी अर्को हप्ताबाट लोडसेडिङ हुने !

भारतले नेपाललाई बिजुली दिन आनाकानी  अर्को हप्ताबाट लोडसेडिङ हुने !

काठमाडौं । आफ्नो विद्युत् व्यापार बजार (इन्डियन इनर्जी एक्सचेन्ज) बाट नेपाललाई बिजुली किन्न दिने सम्झौता नवीकरण गर्न भारतले आनाकानी गर्दा अर्को हप्ताबाट नेपालमा लोडसेडिङ हुने सम्भावना बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने उक्त सम्झौताको म्याद चैत १८ गते सकिँदै छ । प्राधिकरणका अधिकारीहरू ३ महीनादेखि नेपालले नवीकरणका लागि आग्रह गरिरहे पनि भारतको सम्बद्ध निकायले चासो नदेखाएको बताउँछन् । 

भारतमा आसन्न लोकसभा चुनावमा बिजुली धेरै चाहिने बहानामा सम्झौता नवीकरण गर्न नसकिने संकेत भारतीय अधिकारीले मौखिक रूपमा दिँदै आएका छ ।  यो सम्झौता तत्काल नवीकरण नगरे कम्तीमा डेढ महीना बिजुली व्यवस्थापन चुनौतीपूर्ण हुनेछ ।

कम्तीमा वैशाख अन्त्यसम्म नेपालको आन्तरिक विद्युत् उत्पादन नबढ्ने भएकाले आगामी डेढ महीना बिजुली व्यवस्थापन चुनौतीपूर्ण हुनेछ । भारतले २०७७ चैतमा पहिलोचोटि इन्डियन इनर्जी एक्सचेन्जबाट नेपालले बिजुली आयात गर्न सक्ने गरी अनुमति दिएको थियो । सम्झौताअनुसार नेपालले ढल्केवर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र महेन्द्रनगर टनकपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत बिजुली आयात गर्न पाउँछ ।

प्रकाशित मिति:     १४ चैत्र २०८०, बुधबार  |    Himali Khabar