ब्यापारमा मनोमानी: ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

ब्यापारमा मनोमानी: ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

काठमाडौं । मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव ८ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण, २०७८ ले यस्तो तथ्याङ्क देखाएको हो । सर्वेक्षणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा सञ्चालित ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको देखिएको छ । 

त्यस्तै कोशी प्रदेशका ३८ दशमलव पाँच, कर्णालीका ३३ दशमलव आठ, सुदूरपश्चिमका २८ दशमलव आठ, लुम्बिनीका २६ दशमलव नौ, गण्डकीका २५ दशमलव एक र बागमतीका २४ दशमलव सात प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका छन् । 

थोक व्यापार गर्ने ६ दशमलव ४२, खुद्रा व्यापार गर्ने ३३ दशमलव ३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२ दशमलव ५४ प्रतिशत संस्था दर्ताबिनै सञ्चालन भइरहेको पनि सर्वेक्षणबाट देखिएको छ । 

सर्वेक्षण प्रतिवेदनअनुसार व्यापार क्षेत्रमा ११ लाख ३० हजार छ सय ४५ जना मानिस संलग्न छन् । सोमध्ये महिला चार लाख तीन हजार नौ सय ६४ जना अर्थात् ३६ प्रतिशत र पुरुष सात लाख २६ हजार छ सय ८१ जना अर्थात् ६४ प्रतिशत छन् । दर्ता भएका चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्येमा ७४ दशमलव दुई प्रतिशतमा पुरुष र २५ दशमलव आठ प्रतिशत महिलाको नाममा दर्ता छन् । 

व्यापारमा आबद्ध व्यक्तिमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३२ दशमलव ९ प्रतिशत छन् । त्यस्तै लुम्बिनी प्रदेशका १६ दशमलव चार, कोशीका १६ दशमलव आठ, मधेसका १४ दशमलव तीन, गण्डकीका नौ दशमलव पाँच, सुदूरपश्चिमका पाँच दशमलव नौ र कर्णालीका चार दशमलव दुई प्रतिशत छन् ।

प्रकाशित मिति:     २७ माघ २०८०, शनिबार  |    Himali Khabar