मन्त्रिपरिषद् हेरफेरको कसरतमा प्रधानमन्त्री,१० सम्म काठमाडौं नछाड्न मन्त्रीहरुलाई निर्देशन

मन्त्रिपरिषद् हेरफेरको कसरतमा प्रधानमन्त्री,१० सम्म काठमाडौं नछाड्न मन्त्रीहरुलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌मा फेरबदलको तयारी थालेका छन्। प्रधानमन्त्री नियुक्त भएको १ वर्ष पूरा हुनुअघि नै मन्त्रीहरु हेरफेरका लागि प्रचण्डले छलफल थालेका हुन्।

बितेका १ वर्षमा केही मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको समीक्षासँगै उनले दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्न चाहेको प्रधानमन्त्री प्रचण्ड सचिवालयका एक सदस्यले बताए।  त्यसको संकेत उनले सार्वजनिक कार्यक्रममार्फत् समेत गरिरहेको सचिवालयका ती सदस्यको दाबी छ। सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री प्रचण्डले अबको १ वर्ष फरक ढंगले काम गर्न चाहेको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले आगामी पुस १० गतेसम्म मन्त्रीहरुलाई अनिवार्य बाहेक उपत्यका बाहिर जाने कार्यक्रम नबनाउन निर्देशन दिएका बताइएको छ। प्रधानमन्त्री प्रचण्डले १० गते मंगलबार विशेष सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति:     ४ पुष २०८०, बुधबार  |    Himali Khabar