आइपीओमा १० कित्ते नीति हटाउने तयारी

आइपीओमा १० कित्ते नीति हटाउने तयारी

काठमाडौं । प्राथमिक सेयर आईपीओ बाँडफाँटमा पुगेसम्म सबैलाई १० कित्ता दिनुपर्ने हालको व्यवस्था पुनरावलोकन गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले यो व्यवस्था पुनरावलोकन गर्नका लागि विज्ञ सञ्चालक भोलानाथ ढुंगानाको नेतृत्वमा समिति गठन गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

समितिका अन्य सदस्यहरुमा श्रेष्ठसहित सञ्चालक कुमार झा र अम्बिकाप्रसाद गिरी छन् । समितिले हालको न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम १० कित्ता दिनुपर्ने व्यवस्थाको विस्तृत अध्ययन गरी यसमा पुनरावलोकन गर्ने नगर्ने विषयमा सुझाव दिनेछ ।

केही लगानीकर्ताले यो व्यवस्थालाई परिमार्जन गरी कम्तीमा ५० कित्ता बाँडफाँट गर्नुपर्ने माग गर्दै आएका छन् । बुक बिल्डिङ पद्धतिबाट हुने बाँडफाँटमा भने न्यूनतम ५० कित्ताकै लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ता दिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति:     २५ मंसिर २०८०, सोमबार  |    Himali Khabar